बिकाउनको लागी बाले अगाडि दाँत हालिदिए, त्यसपछि कस्लाई वास्ता !' डा गितु गैरे
केही दिन अगाडिको कुरा हो, ओपीडीमा दुई दिदी र उहाँको सानो बाबु आइपुग्नुभयो। आजभोलीका आमाबाबु छोराछोरीको दाँत बिग्रन्छ कि, बाङ्गोटिङ्गो हुन्छ कि भनेर विशेष सजग रहेको पाइन्छन्। मैले पनि सहज अनुमान गरेर बाबुकै दाँत देखाउन होला भन्ने सोचें तर होइन रहेछ। बाबुको आमाको दाँत किराले खायो भनेर जचाउन आउनुभएको रहेछ। जब मैले चेकजाँच गरे तब सहानुभुति मात्रै दिन सकें। बत्तिस वर्षको उमेरमा दिदीको मुखमा दाँतको ठूटा मात्रै बाँकी थिए।
आगाडि फिक्स दाँत लगाउनु भएको थियो। त्यसको पनि अवस्था राम्रो थिएन। मैले नम्र भएर बेलैमा किन देखाउनु भएन, बचाउन मिल्ने अवस्था छैन भनें। अगाडि फिक्स दाँत थियो बाँकी सबैजसो दाँतको ठुटा मात्रै बाँकी थियो। यस्तो अवस्थामा अब बिरामीलाई कराएर कामै थिएन। सहानुभूति दिएँ अनि सम्झाएँ र भनें 'अब अरुलाई जानेको कुरा भनिँदिनु। समयमै हस्पिटल जाने सल्लाह दिनु, कहिले दाँत दुख्छ अनि जचाउँन जाउँला भनेर कुरीबस्न नभन्नु।'
अरु त म के नै भन्न सक्थे र के नै गर्न सक्थे र। कुरैकुरामा ती दिदीको दिदीले केही भन्नुभयो जुन वाक्य म तपाईंहरुलाई जस्ताको तस्तै भन्दै छु।
'बिकाउनको लागी बाले अगाडि दाँत हालिदिए, त्यसपछि कस्लाई वास्ता'! यो एउटै वाक्यमा कति धेरै अर्थ लुकेको छ। जसले हाम्रो समाजको यथार्थता देखाउँछ। कति स्पष्ट छ। कति धेरै सानातिना, झिनामसिना लाग्ने कथाहरु लुकेका छन्। दिदी त्यहीं अक्कबक्क पर्नुभयो। मैले उपचारको तरिका बताए। चिन्ता दिदीलाई कसरी खर्च जुटाउने भन्ने थियो। बच्चाको जिम्मेवारी र घरको काम कसलाई सुम्पिएर अस्पताल धाईरहुँ भन्ने थियो। जति पीर यी कुरामा थियो आफ्नो दाँतको यो अवस्थामा खासै थिएन। मनमनै मैले सोचेँ 'समस्याको चिन्ता पनि त परिस्थिति अनुरुप हुने रैछ'। सरकारले बिमा त धेरै हस्पिटलमा लागुगर्यो तर दाँत र मुखको रोगको उपचारमा सहुलियत नै छैन। यसै त जनमानसमा दाँतको उपचार महंगो हुन्छ भन्ने मानसिकताले जरा गाडेर बसेको छ।
त्यसमाथि बिमाको सहुलियत नहुँदा, उपचारको फिक्स दर नहुँदा बिरामीमा झन् दुविधा र हेलचेक्रयाई बढिरहेको छ। दाँत र मुखको उपचार पहुचवालाको मात्रै नहोस्, हरेक वर्ग र भेगको मानिसम्म पुग्न सकोस्। सहर केन्द्रित नभएर हरेक ठाउँसम्म उपचारका माध्यमहरू पुगोस् भन्ने कामना खै कहिलेसम्म पूरा हुन्छ? वा हुँदैन कि? सुरुमा दिदीको त्यो दाँतको अवस्थाले झस्किए, त्यसपछि उपचार विधी बुझाउने क्रममा लाग्ने पैसा र समय बताउँदा व्यक्त र अव्यक्त ती भावभंगी हेरेर मन निकै समयसम्म बिझिरह्यो। आजसम्म पनि उस्तै छ। दाँतको उपचार नगरेर मरिन्न क्यारे भन्ने हाम्रो समाजमा दाँतको उपचारको लागि भनेर पोखरासम्म आउने चाजोपाजो कसरी मिलाउलिन् दिदीले। खर्चको जोहो कसरी गर्लिन्?
साभार स्वास्थ्यखबर पत्रीका
Comments
Post a Comment