दाँतमा कीरा लाग्ने कारण र समाधानका उपायहरू
पछिल्लो समय आम नागरिकमा रोगबारे सचेतना बढ्दै गएको छ । तर मुख तथा दन्त स्वास्थ्यमा भने त्यति चासो दिइएको पाइँदैन । सामान्य लाग्ने दन्तरोग प्रायःजसो व्यक्तिमा पाइन्छ । यो जुनसुकै उमेरमा पनि लाग्न सक्छ ।
स्वस्थ छौं भने पनि दाँतको सरसफाइ नहुँदा दाँत कमजोर हुँदै कीरा लाग्नेदेखि विभिन्न मुख तथा दन्त समस्या देखा पर्न सक्छ । जसमध्ये सबैभन्दा बढी देखिने भनेको दाँतमा कीरा लाग्ने समस्या हो । यसको समयमा उपचार नहुँदा दाँत नै काम नलाग्नेसम्मको अवस्था आउँछ ।
दाँतमा कीरा लाग्ने कारण
दाँतमा कीरा विभिन्न कारणले लाग्छ । खानेकुरा खाएपछि राम्रोसँग सफा नहुँदा दाँत फोहोर हुन्छ र कीरा लाग्छ । चिनीजन्य खानेकुरा अत्यधिक खाँदा दाँतमा अड्किने, टाँसिने, चिउरा, रोटी, चाउचाउ, बिस्कुट जस्ता अन्य खानेकुरा खाएपछि मुख कुल्ला गरिएन भने दाँतमा कीरा लाग्ने सम्भावना बढी हुन्छ ।
दाँतमा अड्किएर बसेको जीवाणु सडेपछि त्यसले एसिड उत्पादन गर्छ । त्यो खानेकुराले बिस्तारै दाँतलाई नरम बनाउँदै लैजान्छ र दाँतमा भएको खनिज खिइँदै जान्छ । खनिज दाँतलाई बलियो बनाइराख्ने तत्व हो ।
दाँत खिइँदै पनि जाने भएकाले खानेकुरा झनै अड्किंदै जान्छ । कीरा लाग्दै गयो तर सरसफाइमा ध्यान दिएन, दन्त परीक्षण गराइएन भने दाँतको भाग खिइँदै गएर दाँतमा खाल्टो पर्न जान्छ । खाना अड्किने क्रम बढ्दै गएपछि त्यसलाई निकाल्न टुथपिक जस्ता वस्तु प्रयोग गर्नुपर्छ । कीरा लागेको दाँतको नसासम्म पुग्छ र दाँत दुखेको महसुस हुन्छ ।
दाँतमा कीरा लागेपछि
दाँतमा कीरा लागेको जति छिटो थाहा पायो त्यति नै उपचार सहज र प्रभावकारी हुने भएकाले सकेसम्म ६ महिनामा एकपटक वा वर्षको एकपटक दन्त परीक्षण गराउनुपर्छ ।
दाँतमा कीरा लाग्न थालेपछि दाँतको सतह कालो हुँदै जान्छ । दाँतमा भर्खरै कीरा लाग्न थालेको छ भने सिमेन्ट लगाएर भर्न सकिन्छ । त्यस्तै कीरा लागेर दाँत खाल्डो भइसकेको छ भने दुई चरण गरेर सिमेन्ट लगाउन सकिन्छ ।
दाँत दुखेको, सुन्निएको र हल्लिएको छ भने दाँतलाई जरासम्म कीराले खाइसकेको बुझ्न सकिन्छ । त्यसका रुट क्यानल उपचार (आरसीटी) गर्नुपर्ने हुन्छ । यो जरासम्म उपचार गर्ने विधि हो, सिमेन्ट भर्ने जस्तो सहज हुँदैन । आरसीटी उपचारको प्रक्रिया केही लामो पनि हुनसक्छ । आरसीटी गरेपछि अनिवार्य क्याप लगाउनुपर्छ, जसले दाँतलाई थप बलियो मनाउन मद्दत गर्नुका साथै दाँतको आयु पनि बढाउँछ ।
कीराले खाएर पनि दाँत र गिजाको केही टुक्रा मात्र छ भने पनि त्यसको बचाउको लागि उपचार गर्न सकिन्छ । पहिला आरसीटी गरिसकेपछि दाँतको भित्रपट्टि पिल्लर जस्तो सपोर्टको रुपमा पोस्ट एण्ड कोर ठड्याउने गरिन्छ । त्यसको माथिपट्टि दाँतको आकारमा सिमेन्ट भरिन्छ । पोस्ट एण्ड कोर प्रिफेब्रिकेटले बनेको हुन्छ । यो पद्धति पनि उपचार गराउन सम्भव नभएको अवस्थामा अन्तिम विकल्प दाँत झिक्ने हुन्छ । त्यो भनेको एक्स–रे गरेर हेर्दा हड्डी र गिजाको तह नै नभएको खण्डमा दाँत निकाल्ने अवस्था आउँछ । जुन विरलै हुन्छ ।
Comments
Post a Comment